मलंगवा – काठमाडौंस्थित जगन्नाथदेवल केन्द्रीय कारागारबाट फरार रहेका डाँका चोरी मुद्दाका एक कैदीलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका – १ निवासी २६ वर्षीय रमन भन्ने रामलाल योन्जन रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरीका अनुसार डाँका चोरी मुद्दामा सजाय भुक्तान गरिरहेका योन्जन केही समयअघि जेनजी आन्दोलनका क्रममा जगन्नाथदेवल केन्द्रीय कारागारबाट फरार भएका थिए। फरार भएपछि उनी विभिन्न स्थानमा लुकेर बसिरहेको आशंकाका बीच प्रहरीले उनको खोजी तीव्र बनाएको थियो।

विशेष गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले असार १९ गते बेलुका करिब ८:३० बजे हरिवन क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमका अनुसार पक्राउ परेका योन्जनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारागार कार्यालय सर्लाहीमा बुझाइएको छ। प्रहरीले उनीमाथिको थप प्रक्रिया सम्बन्धित निकायमार्फत अगाडि बढाइएको जनाएको छ।





