सर्लाही – सरकारले शिक्षा नियमावलीको १०औँ संशोधनमार्फत विद्यालयको प्रधानाध्यापक नियुक्तिसम्बन्धी व्यवस्था परिवर्तन गरेको छ। नयाँ व्यवस्थाअनुसार अब आधारभूत र माध्यमिक तहका विद्यालयमा स्थायी शिक्षक मात्रै प्रधानाध्यापक बन्न योग्य हुनेछन्। करार तथा राहत दरबन्दीका शिक्षक भने प्रधानाध्यापक पदका लागि अयोग्य हुनेछन्।
नियमावलीअनुसार प्रधानाध्यापक नियुक्तिका लागि स्थानीय तहले सम्बन्धित विद्यालयमा कार्यरत स्थायी शिक्षकहरूबाट आवेदन माग गर्नेछ। आधारभूत तहको प्रधानाध्यापक बन्न स्नातक उत्तीर्ण हुनुपर्नेछ भने माध्यमिक तहका लागि स्नातकोत्तर उत्तीर्ण गरी सम्बन्धित विद्यालयमा स्थायी शिक्षकका रूपमा कार्यरत रहेको हुनुपर्ने व्यवस्था गरिएको छ।

शिक्षाशास्त्र अध्ययन गरेका शिक्षकका लागि भने केही छुट दिइएको छ। शिक्षाशास्त्रमा स्नातक वा सो सरह योग्यता हासिल गरी कम्तीमा पाँच वर्ष स्थायी सेवा गरेका शिक्षक माध्यमिक तहको प्रधानाध्यापक बन्न सक्नेछन्। त्यस्तै, शिक्षाशास्त्रमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी पाँच वर्ष स्थायी सेवा गरेका शिक्षक आधारभूत तहको प्रधानाध्यापक पदका लागि उम्मेदवार बन्न पाउनेछन्।
यदि सम्बन्धित विद्यालयमा योग्य स्थायी शिक्षक उपलब्ध नभए स्थानीय तहभित्रका अन्य विद्यालयबाट आवेदन आह्वान गर्न सकिनेछ। स्थानीय तहभित्र पनि योग्य शिक्षक नभएको अवस्थामा जिल्लाभित्रका अन्य विद्यालयमा कार्यरत स्थायी शिक्षकलाई पनि अवसर दिने व्यवस्था गरिएको छ।
यसैबीच, सरकारले प्रधानाध्यापकको मासिक भत्तामा पनि उल्लेख्य वृद्धि गरेको छ। माध्यमिक विद्यालयका प्रधानाध्यापकको भत्ता साविकको ५०० रुपैयाँबाट बढाएर ३,००० रुपैयाँ पुर्याइएको छ। कक्षा ६ देखि ८ सम्मका आधारभूत विद्यालयका प्रधानाध्यापकले अब २,००० रुपैयाँ भत्ता पाउनेछन्, जुन पहिले ३०० रुपैयाँ थियो। त्यस्तै, कक्षा १ देखि ५ सम्मका आधारभूत विद्यालयका प्रधानाध्यापकको भत्ता २०० रुपैयाँबाट बढाएर १,००० रुपैयाँ कायम गरिएको छ।
नयाँ नियमावलीले प्रधानाध्यापक नियुक्तिपछि कार्यसम्पादन करार अनिवार्य गरेको छ। विद्यालय विकास योजनामा उल्लेख गरिएका लक्ष्य समयमै पूरा गर्ने प्रतिबद्धतासहित नियुक्ति दिइनेछ। कार्यसम्पादन कमजोर देखिए, जिम्मेवारी पूरा नगरे, वा आचरण सन्तोषजनक नभएको प्रतिवेदन र विद्यालय व्यवस्थापन समितिको सिफारिस आएमा स्थानीय तह प्रमुखले जुनसुकै समयमा प्रधानाध्यापकलाई पदबाट हटाउन सक्ने व्यवस्था पनि नियमावलीमा समावेश गरिएको छ।





