घुस लिएको आरोपमा सप्तरीको भेटेरिनरी अस्पतालका निमित्त प्रमुखसहित दुई पक्राउ

२०८३ असार २२, सोमबार १९:२८

सर्लाही – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीस्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, राजविराजका निमित्त प्रमुख र उनका सवारीचालकलाई सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा पक्राउ गरेको छ।

आयोगको इटहरी कार्यालयका प्रमुख यज्ञ पुरीका अनुसार पक्राउ पर्नेमा केन्द्रका निमित्त प्रमुख डा. रामपवित्र दास र सवारीचालक भागेन्द्र यादव रहेका छन्। उनीहरूलाई विशेष सूचनाका आधारमा अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो।

आयोगका अनुसार केन्द्रमा करार सेवामा कार्यरत भ्याक्सिनेटरहरूलाई उनीहरूले काम गरेबापत प्राप्त गर्ने पारिश्रमिकबाट २० प्रतिशत रकम ‘कमिसन’का रूपमा दिन दबाब दिएको भन्ने उजुरी प्राप्त भएपछि अनुसन्धान अघि बढाइएको थियो।

प्रहरी नायब उपरीक्षक अनमोल खड्काको नेतृत्वमा खटिएको टोलीले डा. दासको कार्यकक्षमै सवारीचालक यादवले भ्याक्सिनेटरहरूबाट संकलन गरेको ३३ हजार ३५० रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको जनाएको छ।

साथै स्रोत नखुलेको ४८ हजार ७० रुपैयाँ नगदसमेत बरामद भएपछि कुल ८१ हजार ४२० रुपैयाँ जफत गरिएको आयोगले जनाएको छ। यसैगरी, विभिन्न रकम उल्लेख भएका पाँच वटा चेक तथा दुवै आरोपितका एक एक थान मोबाइल फोन पनि बरामद गरिएको छ।

अख्तियारले घुस रकम, चेक र अन्य प्रमाणका आधारमा पक्राउ परेका दुवै जनामाथि भ्रष्टाचारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार