गौर, रौतहट – रौतहटमा जबरजस्ती करणी गरेको आरोपमा चार भारतीय नागरिकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौर नगरपालिका – २ स्थित एक होटलमा भएको घटनापछि पीडितले दिएको उजुरीका आधारमा असार २१ गते बिहान करिब १ बजे प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा गौर नगरपालिका – २ निवासी २५ वर्षीय सन्तोष राउत रहेका छन्। त्यस्तै, भारतको मुजफ्फरपुर जिल्लाका ३३ वर्षीय मोहम्मद ताजुदिन, ३७ वर्षीय जितेन्द्र कुमार, ३८ वर्षीय हसनैन आलम र ३४ वर्षीय आलोक कुमार पनि पक्राउ परेका छन्।
प्रहरीले पक्राउ परेका पाँचै जनाविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।





