अशोक यादवमाथि सर्लाही प्रहरीले गरेको व्यवहारप्रति नेकपाको आपत्ति

२०८३ असार २३, मंगलवार १८:४०
file image

मलंगवा – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सर्लाहीका आफ्ना केन्द्रीय सदस्य अशोक कुमार यादव र उनको परिवारमाथि स्थानीय प्रहरीले गरेको भनिएको व्यवहारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ।

सोमबार सार्वजनिक गरिएको विज्ञप्तिमा पार्टीले ट्र्याक्टर र ट्रकबीच भएको सामान्य सवारी दुर्घटनाको घटनालाई आधार बनाएर प्रहरीले यादवको घर तथा गाउँमा पटक–पटक पुगेर छापा मार्ने, परिवारलाई मानसिक दबाब र त्रासमा राख्ने तथा घटनालाई अतिरञ्जित रूपमा प्रस्तुत गर्दै मुद्दा अघि बढाउने प्रयास गरेको आरोप लगाएको छ।

पार्टीले यस्ता गतिविधि स्वीकार्य नभएको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र दोषी देखिने जो कोहीमाथि कानुनअनुसार कारबाही हुनुपर्ने धारणा राखेको छ। साथै, घटनालाई अनावश्यक रूपमा राजनीतिक रंग दिएर नियोजित ढंगले आरोप प्रत्यारोप गर्ने र परिवारलाई अनावश्यक दुःख दिने कार्य तत्काल रोक्न सम्बन्धित पक्षसँग आग्रह गरिएको छ।

विज्ञप्तिमा प्रहरी प्रशासनलाई घटनाको कानुनसम्मत, निष्पक्ष र पूर्वाग्रहविहीन अनुसन्धान गर्न आग्रह गर्दै सत्यतथ्य बाहिर ल्याउने प्रक्रियामा पार्टीले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ। उक्त विज्ञप्तिमा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय कार्यालयका मुख्य सचिव गणेशमान पुनको हस्ताक्षर रहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार