१२ हजार रुपैयाँ घुससहित सिरहाका वन कार्यालय प्रमुख अख्तियारको फन्दामा

२०८३ असार २३, मंगलवार २१:०३

सर्लाही – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ हजार रुपैयाँ घुस लिएको आरोपमा सिरहास्थित सब डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख रामकेवल राय यादवलाई पक्राउ गरेको छ।

आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले मंगलबार कर्जन्हा नगरपालिका–४ मा विशेष निगरानीका क्रममा यादवलाई सेवाग्राहीबाट घुस लिइरहेका बेला नियन्त्रणमा लिएको हो।

अख्तियारका अनुसार कर्जन्हा नगरपालिका–२ मा रहेको एक सःमिलले विभिन्न स्थानबाट ल्याएको तीन ट्रक काठको सहजीकरण गरिदिने भन्दै यादवले प्रति ट्रक चार हजार रुपैयाँका दरले कुल १२ हजार रुपैयाँ घुस मागेका थिए।

घुस मागिएको भन्दै सेवाग्राहीले अख्तियारमा उजुरी दिएपछि आयोगले ‘स्ट्रिङ अपरेसन’ सञ्चालन गरेको थियो। सोही अपरेसनका क्रममा यादवलाई घुस रकमसहित पक्राउ गरिएको आयोगले जनाएको छ।

अख्तियारका अनुसार घटनास्थलमा आवश्यक मुचुल्का तयार गर्ने तथा प्रमाण संकलन गर्ने काम भइरहेको छ। पक्राउ परेका यादवमाथि भ्रष्टाचारसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको आयोगले जनाएको छ।

उता, डिभिजन वन कार्यालय लहानका प्रमुख बेचन चौधरीले घटनाबारे प्रारम्भिक जानकारी मात्र प्राप्त भएको बताए। उनले कुन विषयमा र कसबाट घुस लिइएको भन्ने सम्बन्धमा विस्तृत विवरण संकलन भइरहेको जानकारी दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार