सर्लाही – रौतहटमा जग्गाको साँध (सीमाना) सम्बन्धी विवादले उग्र रूप लिँदा एक जनाको ज्यान गएको छ। जिल्लाको ईशनाथ नगरपालिका – ३ औरैयामा मंगलबार राति भएको झडपमा चक्कु प्रहारबाट ६० वर्षीय वुटन साहको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मंगलबार राति करिब १०:१५ बजे रामबहादुर साह, उनका छोरी ज्वाइँ वुटन साह तथा रामाऔतार साह र उनका छोरा राम महेश्वर साहबीच जग्गाको सीमाना सम्बन्धी विषयमा विवाद भएको थियो। सामान्य भनाभनपछि सुरु भएको विवाद कुटपिटमा परिणत भएको थियो।

सोही क्रममा राम महेश्वर साहले वुटन साहको पिठ्युँमा चक्कु प्रहार गरेका थिए। गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा रामबहादुर साह पनि टाउकोमा चोट लागेर घाइते भएका छन्। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। घटनापछि चक्कु प्रहारको आरोप लागेका राम महेश्वर साह र उनका बुबा रामाऔतार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।





