सिरहामा खोला किनारमा महिलाको शव फेला

२०८३ असार २४, बुधबार १८:३४
file image

सर्लाही – सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा एक महिलाको शव खोला किनारमा फेला परेको छ।

जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका – ३ महेशपुर निवासी ४० वर्षीया रञ्जुदेवी यादवको शव गाउँपालिकाको वडा नम्बर ५ र ६ को सीमामा पर्ने सरस्वती खोलाको उत्तरी किनारमा बुधबार फेला परेको प्रहरीले जनाएको छ।

स्थानीय अजय यादव भैंसी चराउन जाने क्रममा शव देखेपछि परिवारका सदस्य तथा प्रहरीलाई जानकारी दिएका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर मुचुल्का लगायतका कानुनी प्रक्रिया पूरा गरेको थियो।

प्रहरीले शव पोस्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाएको जनाएको छ। मृतकका बुबा हरिदेव यादवका अनुसार रञ्जुदेवी केही समयदेखि मानसिक स्वास्थ्य समस्याबाट पीडित थिइन्।

त्यसैका कारण उनी माइतीमा बस्दै आएकी थिइन् र बेला बेलामा घरबाट बाहिर निस्कने गरेको परिवारको भनाइ छ। उनको माइती लक्ष्मीपुर पतारी–५ पथलगडामा रहेको छ। प्रहरीका अनुसार घटनाको वास्तविक कारण अझै खुल्न सकेको छैन।

मृत्युको कारण पोस्टमार्टम रिपोर्टपछि मात्रै स्पष्ट हुने बताउँदै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार