नक्कली शैक्षिक प्रमाणपत्रबाट शिक्षक बनेका सिरहाका मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा

२०८३ असार २४, बुधबार १८:३९

सर्लाही – नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा शिक्षक नियुक्ति लिएको आरोपमा सिरहाका एक शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकास्थित जनता माध्यमिक विद्यालय, बेतहा भवानीपुरमा कार्यरत शिक्षक गुञ्जेश्वर मण्डलविरुद्ध बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार मण्डलले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदमा नियुक्ति लिने क्रममा आफूले भारतको बिहार इन्टरमिडियट एजुकेसन काउन्सिलबाट विज्ञान विषयमा उच्च माध्यमिक (आई.एस्सी.) तथा चौधरी चरण सिंह विश्वविद्यालयबाट विज्ञान विषयमा स्नातक तह उत्तीर्ण गरेको भन्दै शैक्षिक प्रमाणपत्र पेस गरेका थिए।

अनुसन्धानका क्रममा ती प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको आयोगले जनाएको छ। नक्कली प्रमाणपत्रका आधारमा शिक्षक पदमा नियुक्ति पाएपछि मण्डलले सरकारी सेवा, तलब, भत्ता तथा अन्य सुविधा लिएको पनि अनुसन्धानबाट खुलेको आयोगको दाबी छ।

यस कार्यले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) अन्तर्गतको कसुर गरेको ठहर गर्दै अख्तियारले सोही ऐन बमोजिम कैद र जरिवानाको मागसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार