सर्लाही – मोरङ प्रहरीले नक्कली नागरिकता तथा अन्य सरकारी कागजात तयार गरी वितरण गर्ने कार्यमा संलग्न रहेको आरोपमा एक गिरोहलाई पक्राउ गरेको छ। राष्ट्रिय परिचयपत्र बनाउन पुगेकी एक महिलाले नक्कली नागरिकता पेस गरेपछि सुरु भएको अनुसन्धानले कीर्ते कागजात बनाउने संगठित समूहको पर्दाफास गरेको हो।
प्रहरीका अनुसार सप्तरी स्थायी घर भई हाल विराटनगर महानगरपालिका – १४ बस्दै आएकी ३० वर्षीया मनिषाकुमारी कामत असार २४ गते राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय मोरङ पुगेकी थिइन्। उनले मनिषाकुमारी राजवंशीको नाममा जारी भएको नेपाली नागरिकताको प्रमाणपत्र पेस गरेपछि प्रशासनका कर्मचारीलाई शंका लागेको थियो।

कागजातको परीक्षण गर्दा नागरिकता नक्कली रहेको पुष्टि भएपछि प्रशासनले तत्काल प्रहरीलाई जानकारी गराएको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक लोकनाथ दाहालको नेतृत्वमा विशेष टोली परिचालन गरी अनुसन्धान अघि बढाइएको थियो।
अनुसन्धानका क्रममा प्रहरीले उक्त नक्कली नागरिकता विराटनगर–६ निवासी धनदेव राजवंशी र विराटनगर–११ का अशोककुमार श्रेष्ठमार्फत उपलब्ध गराइएको तथ्य फेला पारेको जनाएको छ।
यसै आधारमा प्रहरीले विराटनगरस्थित महेन्द्र चोकमा सञ्चालन हुँदै आएको ‘न्यू डोली फोटो सर्भिसेज’ मा छापा मारेको थियो। धनदेव राजवंशीले सञ्चालन गर्दै आएको उक्त फोटो स्टुडियोमा गरिएको खानतलासीका क्रममा नक्कली सरकारी कागजात बनाउन प्रयोग हुने विभिन्न सामग्री र प्रमाणपत्रहरू बरामद भएका छन्।
प्रहरीका अनुसार स्टुडियोबाट विभिन्न व्यक्तिको नाममा जारी गरिएका १२ थान नेपाली नागरिकता, दुई थान सवारी चालक अनुमति पत्र, दुई थान मोबाइल फोन, एक थान कम्प्युटर सीपीयू तथा नगद तीन हजार ४ सय ५० रुपैयाँ बरामद गरिएको छ।
त्यसैगरी, १० थान खाली जन्मदर्ता प्रमाणपत्र, एक थान खाली विवाह दर्ता प्रमाणपत्र, एक थान खाली मृत्यु दर्ता प्रमाणपत्र, विभिन्न व्यक्तिका नाममा जारी भइसकेका जन्म, विवाह तथा मृत्यु दर्ताका प्रमाणपत्रहरू र ‘न्यू डोली फोटो सर्भिसेज विराटनगर’ लेखिएको रबर स्ट्याम्प समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
मोरङका डीएसपी सन्तोष श्रेष्ठका अनुसार सरकारी कागजात कीर्ते गर्ने कार्यमा संलग्न रहेको आरोपमा धनदेव राजवंशी र अशोककुमार श्रेष्ठलाई बुधबार पक्राउ गरिएको हो। उनीहरूविरुद्ध लिखत सम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले यस गिरोहले हालसम्म कति व्यक्तिलाई नक्कली नागरिकता तथा अन्य सरकारी कागजात उपलब्ध गराएको थियो भन्ने विषयमा समेत विस्तृत अनुसन्धान जारी राखेको जनाएको छ।





