सर्लाही – सिरहाको गोलबजार नगरपालिका–९ चोहर्वास्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
प्रहरीका अनुसार मे.१ख २३६३ नम्बरको शिव शक्ति बाल बोर्डिङ स्कुलको बस उत्तर गोविन्दपुरतर्फ मोडिने क्रममा सोही दिशाबाट आइरहेको म.प्र.०१–००५ प ३४०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

दुर्घटनामा मोटरसाइकलमा सवार करिब २४ वर्षीय एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको पहिचान अझै खुल्न सकेको छैन। दुर्घटनामा मिर्चैया नगरपालिका–५ का २४ वर्षीय शंख रिहान र १९ वर्षीय यनतियाज राइन घाइते भएका छन्।
गम्भीर घाइते रिहानको टाउको, हात तथा दुवै खुट्टामा चोट लागेको छ। उनलाई गोलबजारस्थित लाइफ लोङ्ग अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगर रिफर गरिएको प्रहरीले जनाएको छ।
राइनको बायाँ खुट्टा, बायाँ हात र टाउकोमा चोट लागेको छ। उनको गोलबजारमै उपचार भइरहेको छ। प्रत्यक्षदर्शीका अनुसार दुर्घटनाका बेला मोटरसाइकलमा तीन जना सवार थिए। मृतकको शव हाल मिर्चैया अस्पतालमा राखिएको छ।
दुर्घटनापछि बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।





