मलंगवा – सर्लाहीको लालबन्दीमा एक मोबाइल व्यवसायीमाथि लुटपाटको प्रयास गर्दै अज्ञात समूहले गोली प्रहार गरेको छ। घटनामा व्यवसायी र उनीसँग रहेका साथी भने सकुशल रहेका छन्। घटना बुधबार राति करिव ८:४५ बजे लालबन्दी नगरपालिका– ७ र ९ को सीमामा रहेको आइडिएल स्कुल नजिकको सुनसान क्षेत्रमा भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमका अनुसार लालबन्दी – ७ स्थित बजारमा मोबाइल पसल सञ्चालन गर्दै आएका लालबन्दी – ९ बस्तीपुर निवासी हरिप्रसाद सापकोटा पसल बन्द गरेर एक जना साथीसँग मोटरसाइकलमा घर फर्किरहेका बेला मोटरसाइकलमै आएका अपरिचित व्यक्तिहरूले उनीहरूलाई रोकेर लुटपाटको प्रयास गरेका थिए।

लुटपाटको प्रयासका क्रममा सामान्य धकेलाधकेल भएपछि आक्रमणकारीको समूहले कटुवा पेस्तोलबाट गोली प्रहार गरेको थियो। घटनास्थलबाट दुई थान पड्किएको र एक थान नपड्किएको गोलीका खोका बरामद गरिएको डीएसपी गौतमले धड्कन एफ एमसंग बताए। गोली प्रहार भए पनि सापकोटा र उनीसँग रहेका साथीलाई कुनै शारीरिक क्षति नपुगेको प्रहरीले जनाएको छ।
घटनाबारे सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मलंगवाबाट अतिरिक्त प्रहरी परिचालन गरिएको थियो। रातभरि सम्भावित स्थानहरूमा खोजतलास र सर्च अपरेशन सञ्चालन गरिए पनि घटनामा संलग्न व्यक्तिको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। घटनामा संलग्नको खोजी तथा पक्राउका लागि अनुसन्धानलाई तीव्र पारिएको प्रहरीको भनाइ छ।





