सर्लाही – मधेश प्रदेश स्थापना भएको सात वर्ष पुग्न लाग्दा प्रदेश सरकारको कामकारबाहीबारे मिश्रित प्रतिक्रिया आउने गरेको छ। केही नेतृत्वमाथि अपेक्षाअनुसार काम गर्न नसकेको आलोचना भइरहेका बेला केही नेताले भने आफ्नो कार्यशैली र परिणाममुखी कामका कारण अलग पहिचान बनाएका छन्।
प्रदेश सरकारका नेतृत्वमध्ये पूर्वमुख्यमन्त्री सतिश कुमार सिंह, पूर्वमुख्यमन्त्री सरोज कुमार यादव तथा वर्तमान गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोलाई कामका आधारमा चर्चा गरिने नेताका रूपमा धेरैले उल्लेख गर्ने गरेका छन्। उनीहरूले आफ्नो कार्यकालमा प्रशासनिक सुधार, सेवा प्रवाह र जनसरोकारका विषयमा सक्रियता देखाएको भन्दै विभिन्न क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आउने गरेको छ।

पूर्वमुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश सरकारको सेवा प्रवाहलाई प्रभावकारी बनाउने, विकास आयोजनाको कार्यान्वयनमा गति दिने तथा प्रशासनलाई परिणाममुखी बनाउन विभिन्न मन्त्रालय र निकायसँग नियमित समन्वय गर्दै आएका थिए। प्रदेश सरकारको कार्यसम्पादन सुधार गर्ने उद्देश्यले उनले मन्त्रालयगत समीक्षा, अनुगमन र आवश्यक निर्देशनलाई निरन्तरता उनको कार्यकालमा दिएका थिए।
पूर्वमुख्यमन्त्री सरोज कुमार यादवले आफ्नो कार्यकालमा प्रदेश सरकारको संस्थागत आधार मजबुत बनाउने, पूर्वाधार विकासका योजना अघि बढाउने तथा प्रदेशका विभिन्न क्षेत्रमा विकास निर्माणका कार्यक्रम सञ्चालन गर्न पहल गरेको भन्दै उनका समर्थक तथा कतिपय सरोकारवालाले सकारात्मक मूल्याङ्कन गर्ने गरेका छन्।
यता गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतो पछिल्लो समय सबैभन्दा बढी जिल्लास्तरमा सक्रिय देखिएका मन्त्रीमध्ये एक मानिन्छन्। उनले प्रदेशका विभिन्न जिल्लामा पुगेर जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, कारागार तथा अन्य सरकारी निकायको आकस्मिक अनुगमन गर्दै सेवा प्रवाह, शान्ति सुरक्षा र कानुन कार्यान्वयनको अवस्थाबारे प्रत्यक्ष जानकारी लिने गरेका छन्।
अनुगमनका क्रममा कार्यालयमा कर्मचारीको उपस्थितिदेखि नागरिकले पाउने सेवाको गुणस्तर, सुरक्षा व्यवस्थाको अवस्था तथा देखिएका समस्याबारे सम्बन्धित अधिकारीसँग छलफल गरी आवश्यक निर्देशन दिने गरेका छन्। सीमावर्ती जिल्लामा हुने तस्करी, आपराधिक गतिविधि नियन्त्रण, लागूऔषध दुव्र्यसन न्यूनीकरण तथा महिला र बालबालिकाको सुरक्षालाई पनि उनले प्राथमिकतामा राख्दै आएका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार प्रदेश सरकारप्रति जनविश्वास बढाउने आधार भाषण वा राजनीतिक प्रतिस्पर्धा होइन, परिणाम देखिने काम हो। नागरिकले विकास, सुशासन, प्रभावकारी सेवा प्रवाह र सुरक्षा व्यवस्थामा सुधार अनुभूति गर्न सक्ने नेतृत्वलाई नै बढी रुचाउने गरेका छन्।
सर्वसाधारणको अपेक्षा नेतृत्वले राजनीतिक विवादभन्दा जनताको दैनिक जीवनसँग जोडिएका समस्या समाधानमा ध्यान दिनुपर्छ भन्नेमा छ। नियमित अनुगमन, जवाफदेहिता, पारदर्शिता र परिणाममुखी कार्यशैलीलाई निरन्तरता दिन सके मात्रै मधेश प्रदेशमा सुशासनप्रति नागरिकको विश्वास अझ बलियो बन्ने विश्वास व्यक्त गरिएको छ।





