मलंगवा – सर्लाहीको पर्सा गाउँपालिका – १, सितलपुरमा भैँसीको पाडोले सडकमा गुडिरहेको मोटरसाइकललाई एक्कासी हानेपछि मोटरसाइकलबाट खसेकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शुक्रबार बिहान करिब ११ः३० बजे हरिपूर्वा नगरपालिका–४, डुमरिया निवासी ४५ वर्षीय सत्यनारायण साहले प्रादेशिक नम्बर प्र.२–०२–००४ प ४१६२ नम्बरको मोटरसाइकल संग्रामपुरबाट महोत्तरीतर्फ चलाइरहेका बेला सडकमा घुमिरहेको भैँसीको पाडोले मोटरसाइकललाई अचानक हानेको थियो।

घटनामा मोटरसाइकलको पछाडि सवार उनकी श्रीमती करिब ४० वर्षीया पुलम कुमारी साह मोटरसाइकलबाट उछिट्टिएर सडकमा लड्दा गम्भीर घाइते भएकी थिइन्। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय संग्रामपुरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।
घाइतेलाई तत्काल उपचारका लागि महोत्तरीस्थित जानकी एकेडेमी अस्पताल पठाइएकोमा उपचारकै क्रममा दिउँसो १२ः२३ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। प्रहरीका अनुसार मोटरसाइकल चालक सत्यनारायण साह र मोटरसाइकलमा सवार उनकी करिब ९ वर्षीया छोरी बन्धना कुमारी साह भने सकुशल रहेका छन्।
मृतकको शव हाल जानकी एकेडेमी अस्पतालमै राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए।





