गोडैता – सर्लाहीमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गरेका छन्। गोडैता नगरपालिका – १० निवासी ३४ वर्षीय विवेक मण्डलले शुक्रबार दिउँसो घरायसी विवादपछि यस्तो कदम चालेको बताईएको छ।
घटनामा मण्डलको शरीरको करिब ९० प्रतिशत भाग जलेको छ। उनको अवस्था अत्यन्त गम्भीर रहेको जनाइएको छ। हाल उनको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ भने थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको छ।

घटनाका सम्बन्धमा गोडैता नगरपालिका – १० का वडाध्यक्ष बैधनाथ मण्डलले घाइते विवेक मण्डलको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको जानकारी दिँदै थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको बताए।
यसै क्षेत्रका प्रतिनिधिसभा सदस्य डा. अमरेश कुमार सिंहले पनि सामाजिक सञ्जालमार्फत घटनाबारे जानकारी दिँदै घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं ल्याएर उपचार गराउने पहल भइरहेको उल्लेख गरेका छन्।
प्रहरीका अनुसार घरमा भएको विवादपछि विवेक मण्डल घरबाट निस्किएर सडकमा पुगेका थिए। त्यसपछि उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। स्थानीयवासी र प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याएका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





