एमएस्सी गरेका सर्लाहीका विवेकले किन गरे आत्मदाहको प्रयास ?

२०८३ असार २७, शनिबार १८:४४

गोडैता – विज्ञान विषयमा स्नातकोत्तर (एमएस्सी) गरेका ३५ वर्षीय विवेक मण्डलले शुक्रबार आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेपछि अहिले काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। सर्लाहीको गोडैता नगरपालिका – १० सिसौटिया निवासी मण्डलको शरीरको अधिकांश भाग जलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो मण्डलले आफ्नै शरीरमा आगो लगाएका थिए। घटनालगत्तै उनलाई प्रादेशिक अस्पताल मलङ्गवामा पुर्‍याएर प्राथमिक उपचार गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि शुक्रबार साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको हो।

परिवारका अनुसार विवेकले विज्ञान विषयमा एमएस्सी उत्तीर्ण गरेका थिए। उनका बुवा उपेन्द्र मण्डलका अनुसार उनी करिब एक वर्षअघिसम्म महोत्तरीको गौशालास्थित एक विद्यालयमा अध्यापन गर्थे। त्यहाँ करिब तीन वर्ष शिक्षकका रूपमा काम गरेका विवेक विद्यालयभित्रको राजनीतिक चलखेलका कारण जागिर छोड्न बाध्य भएको परिवारको दाबी छ।

उनिसंगै सोहि समयमा त्यहाँसंगै बसेका साथीहरुका अनुसार पनि राम्रो अध्यापनको सिप हुँदाहुँदै पनि राजनीतिक चलखेल गरेर उनलाई त्यहाँबाट जागिर छोड्न बाध्य बनाईएको थियो।

जागिर गुमाएपछि विवेक घरमै बस्दै आएका थिए। त्यसयता उनले विभिन्न शैक्षिक संस्थामा रोजगारीका लागि पहल गर्नुका साथै लोक सेवा आयोगका परीक्षामा समेत सहभागिता जनाएका थिए। तर, कुनै पनि प्रयास सफल हुन सकेन।

बिबेककि श्रीमती रिनादेवी मण्डलका अनुसार बेरोजगारी लम्बिँदै जाँदा उनी निराश बन्दै गएका थिए। आफूले आमाबुवाको सम्पत्ति खर्च गरेर उच्च शिक्षा हासिल गरे पनि उपलब्धि हासिल गर्न नसकेको भन्दै उनी बेलाबेला परिवारसँग दुःखेसो पोख्ने गर्थे।

विवेककी आमा मन्टुटिया देवीका अनुसार आर्थिक अभाव र लामो समयको बेरोजगारीका कारण उनी मानसिक तनावमा परेका थिए। केही समयअघि उनको उपचारसमेत गरिएको थियो।

परिवारमाथि आर्थिक भार पनि कम छैन। बुवा उपेन्द्र मण्डलका अनुसार विवेकको अध्ययन र घरखर्चका क्रममा गाउँघर तथा बैंकबाट लिएको ऋण गरी अहिले करिब ३५ लाख रुपैयाँ तिर्न बाँकी छ।

विवेकका दाजु विगत चार वर्षदेखि वैदेशिक रोजगारीका लागि कतारमा छन्। परिवारका अनुसार दाजुकै कमाइबाट घरखर्च र विवेकको उच्च शिक्षाको खर्च जुटाइएको थियो। एमएस्सी पूरा गरेर शिक्षकको जागिर पाएपछि परिवारले आर्थिक अवस्था सुधारिने अपेक्षा गरेको थियो। तर, त्यो रोजगारी लामो समय टिक्न सकेन।

विवेकका श्रीमती, एक छोरा र एक छोरी छन्। छोरा हाल महोत्तरीस्थित मामाघरमा बसेर अध्ययन गरिरहेका छन् भने छोरी परिवारसँगै घरमा छिन्। पहिलेदेखि नै कमजोर आर्थिक अवस्थासँग संघर्ष गरिरहेको मण्डल परिवार अहिले विवेकको उपचारका कारण थप आर्थिक समस्यामा परेको छ।

परिवारले गाउँघर र बैंकको गरी करिब ३५ लाख रुपैयाँ ऋणसमेत तिर्न बाँकी रहेको जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार