मलंगवा – जेन–जी आन्दोलनका क्रममा जलेश्वर कारागार महोत्तरीबाट फरार भएका एक कैदीलाई प्रहरीले झन्डै १० महिनापछि सर्लाहीबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान करिब ७ः३० बजे लालबन्दी नगरपालिका – २ जुटपानीदेखि पुनर्वास जाने भित्री सडक खण्डबाट फरार कैदी विजेन्द्र कुमार पासवानलाई पक्राउ गरेको हो।

पुनर्वास टोल निवासी ३८ वर्षीय बिजेन्द्र पासवान जेन–जी आन्दोलनका क्रममा २०८२ भदौ २४ गते जलेश्वर कारागार, महोत्तरीबाट डाँका मुद्दामा फरार भएका थिए। त्यसयता प्रहरी उनको खोजीमा जुटिरहेको थियो।
झन्डै १० महिनासम्म फरार रहेका पासवानलाई गोप्य सूचनाका आधारमा पक्राउ गरी थप कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय लालबन्दीमा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।





