सर्लाही – महोत्तरीमा दम्पतिमाथि गोली प्रहार गरी डकैती गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
जिल्लाको सोनमा गाउँपालिका – ३ खखना गाउँमा गत जेठ २० गते राति स्थानीय रामविश्वास यादवको घरमा डकैती गर्न पुगेको समूहले घरमा सुतिरहेका उनकी छोरी किरण यादव र ज्वाइँ ईश्वरनारायण यादवमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

घटनामा किरण यादवको खुट्टामा दुई गोली लागेको थियो भने ईश्वरनारायण यादवको दाहिने हातमा एक गोली लागेको थियो।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सम्सी गाउँपालिका–६ निवासी २१ वर्षीय अपरोज शेष, २४ वर्षीय शेष बारिक तथा गौशाला नगरपालिका–५ निवासी क्रिशकुमार मेस्तर रहेका छन्। गोली लागेर घाइते भएका दुवै जनाको उपचारपछि स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलनमार्फत पक्राउ परेका तीनै जनालाई सार्वजनिक गर्दै घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी तथा पक्राउका लागि अनुसन्धान तीव्र पारिएको जानकारी दिएको छ।





