राज्य संकटमा छ, जनतामा नैराश्यता छ – डा. अमरेश कुमार सिंह

२०८३ असार ३०, मंगलवार १२:११

सर्लाही – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंहले मुलुक गम्भीर संकटको अवस्थामा रहेको भन्दै राजनीतिक दलहरूलाई जिम्मेवार बन्न आग्रह गरेका छन्।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा बोल्दै सांसद सिंहले देशमा बढ्दो निराशा र असन्तुष्टिले चिन्ताजनक अवस्था सिर्जना गरेको बताए। उनले संसदबाट नै देशमा बाँच्न र केही गर्न सकिँदैन भन्ने नकारात्मक भाष्य निर्माण गर्न नहुनेमा जोड दिए।

उनले अहिले राज्य संकटमा रहेको र जनतामा नैराश्यता बढ्दै गएको उल्लेख गर्दै दलहरूबीच आरोप प्रत्यारोप र घोचपेचको राजनीति नगर्न आग्रह गरे। राज्य, जनता र लोकतान्त्रिक व्यवस्था सुरक्षित रहे मात्र राजनीतिक प्रतिस्पर्धा र गतिविधि अर्थपूर्ण हुने भएकाले वर्तमान चुनौतीको सामना गर्न सबै दल एकताबद्ध हुनुपर्ने उनको भनाइ थियो।

सिंहले व्यवसायी, विद्यार्थी तथा समाजका विभिन्न वर्गमा निराशा बढ्दै गएको उल्लेख गर्दै देशलाई संकटबाट बाहिर निकाल्न साझा प्रयास अपरिहार्य रहेको बताए। उनले दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितलाई केन्द्रमा राखी सहकार्य गर्न राजनीतिक नेतृत्वलाई आग्रह गरे।

उनले भने- ‘आज हाम्रो राज्य संकटमा छ, जनतामा नैराश्यता छ, यो देशमा बाच्न सकिन्न, गर्न सकिन्न यो भाष्य निर्माण यो संसदबाट कम्तिमा नगरौं । म सम्पूर्ण राजनतिक दललाई प्राथना गर्छु की यसलाई घोचपेचको विषय नबनाऊ । राज्य रह्यो भने, जनता रह्यो भने, लोकतन्त्र रह्यो भने फेरी हामी राजनीति गरौला ।’

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार