मलंगवा – उखु किसानको बक्यौता रकम लामो समयसम्म भुक्तानी नगरेको आरोपमा सर्लाहीको धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मिलका सञ्चालक शैलेन्द्र गुप्ता र विनोद साह कलवार रहेका छन्। उखु बिक्री गरेबापतको रकम वर्षौंदेखि नपाएको भन्दै पीडित किसानहरूले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

किसानहरूले पटक पटक रकम भुक्तानीको माग गर्दै मिल प्रशासनसँग ताकेता गरे पनि बक्यौता रकम नपाएपछि कानुनी उपचारको बाटो रोज्दै प्रहरीमा ठगीसम्बन्धी उजुरी दर्ता गराएका थिए।
किसानहरूको उजुरीपछि प्रहरीले दुवै सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले ठगीसम्बन्धी उजुरीका आधारमा मिलका दुवै सञ्चालकलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिए।
उनका अनुसार घटनाबारे थप प्रमाण संकलनका साथै कानुनी प्रक्रिया अगाडि बढाइने छ। अन्नपूर्ण चिनी मिलले उखु खरिद गरेबापतको रकम लामो समयदेखि भुक्तानी नगर्दा यस क्षेत्रका सयौं उखु किसान आर्थिक समस्यामा पर्दै आएका छन्। आफ्नो मेहनतको उचित मूल्य नपाउँदा किसानहरूले पटक पटक आन्दोलन, प्रशासनसँगको छलफल तथा भुक्तानीका लागि दबाब सिर्जना गरे पनि समस्या समाधान हुन सकेको थिएन।
यसअघि जिल्ला प्रशासन कार्यालय, किसान प्रतिनिधि र उद्योग व्यवस्थापनबीच विभिन्न चरणमा छलफल भए पनि बक्यौता भुक्तानीको विषय टुंगोमा पुग्न नसकेपछि अन्ततः किसानहरूले प्रहरीमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा प्रहरीले मिलका सञ्चालकविरुद्ध कारबाही अघि बढाएको हो।





