असार सकिँदा देशभर ५० प्रतिशत मात्र रोपाइँ

२०८३ असार ३१, बुधबार ०७:४१
फाईल तस्बिर

सर्लाही – धान रोपाइँको मुख्य समय मानिने असार महिना सकिँदासमेत देशभर करिब ५० प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ। पर्याप्त वर्षा ढिलो सुरु हुनु र केही क्षेत्रमा रोपाइँका लागि अनुकूल मौसम नबन्दा गत वर्षको तुलनामा यस वर्ष रोपाइँको गति सुस्त देखिएको हो।

कृषि विभागका अनुसार चालु वर्ष १३ लाख ७० हजार हेक्टर क्षेत्रफलमा धान खेती गर्ने लक्ष्य राखिएकोमा हालसम्म ६ लाख ८२ हजार हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ सम्पन्न भएको छ, जुन कुल लक्ष्यको करिब ५० प्रतिशत हो।

विभागका महानिर्देशक राजेन्द्र कोइरालाले गत वर्ष यही अवधिसम्म करिब ६० प्रतिशत धान रोपाइँ सकिएको भए पनि यस वर्ष ५० प्रतिशतमा सीमित रहेको जानकारी दिए। उनका अनुसार पछिल्ला दिनमा अधिकांश स्थानमा वर्षा भइरहेकाले आगामी सातामा रोपाइँको गति थप बढ्ने अपेक्षा गरिएको छ।

प्रदेशगत रूपमा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ८७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। गण्डकीमा ६५.९ प्रतिशत, कर्णालीमा ६० प्रतिशत, लुम्बिनीमा ५९ प्रतिशत र बागमतीमा ५७.१ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ।

यता, कोशी प्रदेशमा ३२ प्रतिशत र मधेस प्रदेशमा ३२.७ प्रतिशत मात्र रोपाइँ भएको छ। पर्याप्त वर्षाको अभावका कारण यी दुई प्रदेशमा रोपाइँको गति अपेक्षाकृत सुस्त रहेको कृषि विभागको भनाइ छ।

विभागले अब निरन्तर वर्षा भइरहे र बाढी, पहिरो वा अन्य प्राकृतिक विपद्को अवस्था सिर्जना नभए बाँकी क्षेत्रफलमा पनि छिट्टै रोपाइँ सम्पन्न हुने विश्वास व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार