मलंगवा – सर्लाहीको बलरा नगरपालिका – १ हथियौलमा खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ।
प्रहरीका अनुसार भारतको बिहार राज्य, सितामढी जिल्ला, श्रीनगरका नारायण सिंहका करिब ५० वर्षीय छोरा अरबिन्द कुमार सिंहको मंगलबार राति खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो।

मृतक सिंह सर्लाहीको बलरा नगरपालिका – १ हथियौल निवासी सुरेन्द्र प्रसाद सिंहको बटैया (अरूको जमिनमा उत्पादनको हिस्सा बाँडेर खेती गर्ने ) मा खेत कमाउँदै आएका थिए। सिँचाइ गर्ने क्रममा विद्युतीय करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनापछि मृतकका आफन्तले शव घरतर्फ लगिसकेको अवस्थामा बुधबार बिहान करिब १० बजे प्रहरीलाई जानकारी प्राप्त भएको थियो। सूचना पाएलगत्तै प्रहरी चौकी छन्कीटोलाबाट र इलाका प्रहरी कार्यालय गडहियाबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो।
प्रहरीले घटनास्थलको मुचुल्का तयार गरेपछि शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाईएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक ( डीएसपी ) वेदप्रसाद गौतमले जानकारी दिए ।





