सर्लाही – मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेट प्रदेश सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ।
बुधबार बसेको प्रदेश सभा बैठकले अर्थमन्त्री युवराज भट्टराईले गत असार १ गते प्रस्तुत गरेको ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेटलाई सर्वसम्मतिले अनुमोदन गरेको हो।

यसअघि बजेटमा विभिन्न त्रुटि रहेको भन्दै प्रमुख प्रतिपक्षसहित विपक्षी दलहरूले संशोधन गर्न वा सर्वदलीय कार्यदल गठन गर्नुपर्ने माग राख्दै प्रदेश सभा बैठक पटक–पटक अवरुद्ध गरेका थिए। त्यसपछि गत असार २८ गते बजेटसम्बन्धी विवाद समाधानका लागि सात सदस्यीय कार्यदल गठन गरिएको थियो।
कार्यदलले मंगलबार १० बुँदे प्रतिवेदन प्रदेश सभामा पेश गरेको थियो। उक्त प्रतिवेदनका सुझावहरूलाई बजेटको अभिन्न अंगका रूपमा समेटिएपछि दलहरूबीच सहमति जुटेको हो। त्यसपछि बुधबार बसेको बैठकले बजेट सर्वसम्मत रूपमा पारित गरेको छ।





