मलंगवा – सर्लाही प्रहरीले प्रतिबन्धित लागुऔषधसहित एक युवतीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्लाको हरिवन नगरपालिका – ३ निवासी ३० वर्षीया बुनु योञ्जन रहेकी छन्। इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनको घरमा खानतलासी गर्दा प्रतिबन्धित लागुऔषध बरामद भएपछि उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार सोमबार दिउँसो करिब ३ः३० बजे गरिएको खानतलासीका क्रममा योञ्जनको सुत्ने कोठाको खाटमुनि लुकाएर राखिएको अवस्थामा नाइट्राजेपाम ट्याब्लेट, केही खाली बोतल तथा करिब ६०० ग्राम गाँजा बरामद भएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमका अनुसार पक्राउ परेकी युवतीविरुद्ध लागुऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालत सर्लाहीबाट सात दिनको म्याद थप अनुमति लिएर यसबारे थप अनुसन्धान अघि बढाइरहेको उनले बताए।





