सर्लाही – महोत्तरीका पूर्व सांसद लक्ष्मी महतो कोइरी सर्वोच्च अदालतको आदेशपछि कारागारबाट रिहा भएका छन्।
गौशाला नगरपालिका – २ निवासी कोइरी कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका बेला सर्वोच्च अदालतको आदेशअनुसार उनी थुनामुक्त भएका हुन्। उक्त मुद्दामा जिल्ला अदालत महोत्तरीले प्रारम्भिक सुनुवाइका क्रममा कोइरीलाई निर्दोष ठहर गर्दै सफाइ दिएको थियो।

तर, जिल्ला अदालतको उक्त फैसलाविरुद्ध नेपाल सरकारले उच्च अदालत जनकपुरमा पुनरावेदन गरेपछि उच्च अदालतले जिल्ला अदालतको निर्णय उल्टाउँदै उनलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो। उच्च अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ परेका कोइरीलाई कारागार कार्यालय जलेश्वरमा राखिएको थियो।
यसैबीच, सर्वोच्च अदालतले २०८३ असार ३२ गते जारी गरेको आदेशमा अन्य कुनै मुद्दामा थुनामा राख्नुपर्ने कानुनी आधार नरहेको उल्लेख गर्दै तत्काल रिहा गर्न निर्देशन दिएको थियो।
सर्वोच्चको आदेश प्राप्त भएपछि महोत्तरी जिल्ला अदालत र कारागार कार्यालय जलेश्वरले आवश्यक कानुनी प्रक्रिया पूरा गरी पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई रिहा गरेको जनाएको छ।





