पछिल्लो तीन महिनामा तीन हजार २९६ विपद्का घटना: १६० जनाको मृत्यु, ९४५ जना घाइते

२०८३ श्रावण १, शुक्रबार ०८:१४
file image

सर्लाही – पछिल्लो तीन महिनामा देशभर विभिन्न प्रकारका विपद्का तीन हजार २९६ घटना हुँदा १६० जनाले ज्यान गुमाएका छन् भने ९४५ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ गतेदेखि असार ३२ गतेसम्म भएका विपद्का घटनामा दुई जना बेपत्ता भएका छन्।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त अवधिमा चार हजार ३७५ परिवार विपद्बाट प्रभावित भएका छन्। सबैभन्दा बढी ८९७ वटा आगलागीका घटना भएका छन्। आगलागीका कारण १७ जनाको मृत्यु, १०९ जना घाइते तथा ९९० परिवार प्रभावित भएका छन्।

त्यसैगरी, सर्पदंशका ५१४ घटनामा ३८ जनाले ज्यान गुमाएका छन् भने ४७९ जना घाइते भएका छन्। सर्पदंशबाट ५१७ परिवार प्रभावित भएका छन्। हुरीका ४७७ घटनामा १३ जनाको मृत्यु, ६८ जना घाइते र एक हजार ३५६ परिवार प्रभावित भएका छन्।

यस्तै, पहिरोका ४३३ घटनामा १२ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। पहिरोबाट ३५१ परिवार प्रभावित भएका छन्। चट्याङका २२३ घटनामा २४ जनाको मृत्यु, १२० जना घाइते र २६२ परिवार प्रभावित भएका छन्।

प्राधिकरणका अनुसार वन्यजन्तुको आक्रमणका १८१ घटनामा १७ जनाले ज्यान गुमाएका छन् भने १०३ जना घाइते भएका छन्। यस्ता घटनाबाट २८७ परिवार प्रभावित भएका छन्। बाढीका १६१ घटनामा नौ जनाको मृत्यु, दुई जना बेपत्ता र नौ जना घाइते भएका छन् भने ३९६ परिवार प्रभावित भएका छन्।

भारी वर्षाका १५३ घटनामा चार जनाको मृत्यु, एक जना घाइते र १३२ परिवार प्रभावित भएका छन्। लेक लाग्ने ५५ घटनामा २१ जनाको मृत्यु भएको छ भने ३५ जना अझै अस्वस्थ रहेको प्राधिकरणले जनाएको छ। ढुंगा खसेर भएको एक घटनामा दुई जनाले ज्यान गुमाएका छन्।

यसैबीच, तीन महिनाको अवधिमा वन डढेलोका १९१ घटना हुँदा एक जनाको मृत्यु र दुई जना घाइते भएका छन्। हिउँपहिरोका दुई घटनामा एक जनाको मृत्यु र एक जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार