पूर्वप्रधानमन्त्री ओलीको दाबी – दरबार हत्याकाण्ड दीपेन्द्रले गरेका होइनन्

२०८३ श्रावण १, शुक्रबार १६:०३
File image

सर्लाही – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०५८ साल जेठ १९ गते भएको नारायणहिटी दरबार हत्याकाण्ड तत्कालीन युवराज दीपेन्द्र शाहले नगरेको दाबी गरेका छन्।

शुक्रबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले दरबार हत्याकाण्डपछि युवराज दीपेन्द्रलाई दोषी ठहर गर्ने गरी विश्वभर फैलाइएको कथामा सत्यता नरहेको जिकिर गरे। उनका अनुसार घटनाको वास्तविकता अझैसम्म खुल्न नसकेको छ।

ओलीले दरबार हत्याकाण्डलाई युवराज दीपेन्द्रको प्रेम सम्बन्धसँग जोडेर पूर्वतयारी गरिएको कथा सार्वजनिक गरिएको दाबी गर्दै त्यसलाई लामो समयसम्म सत्यका रूपमा प्रस्तुत गरिएको बताए।

उनले घटना लगत्तै दीपेन्द्रले आफ्ना बुबा, आमा, भाइ, बहिनी तथा अन्य परिवारका सदस्यको हत्या गरेर अन्ततः आत्महत्या गरेको भन्ने विवरण विश्वव्यापी रूपमा फैलाइएको उल्लेख गरे। तर त्यसको पुष्टि हुने आधार र तथ्य हालसम्म सार्वजनिक नभएको उनको भनाइ थियो।

ओलीले करिब दुई दशकभन्दा बढी समयसम्म एउटै कथाले जनमानसमा स्थान बनाए पनि घटनाको वास्तविक सत्य अझै बाहिर आउन नसकेको बताए। उनले उक्त कथा कसले तयार गर्‍यो, पहिलोपटक कसले सार्वजनिक गर्‍यो र त्यसको आधार के थियो भन्ने विषयसमेत स्पष्ट नभएको धारणा राखे।

उनले दरबार हत्याकाण्डबारे निष्पक्ष अध्ययन र अनुसन्धान हुनुपर्ने आवश्यकता औँल्याउँदै वास्तविक तथ्य सार्वजनिक हुनुपर्नेमा जोड दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार