काठमाडौँमा ५ वटा सवारीसाधन आपसमा ठोक्किए, सर्लाहीका दुईसहित १० जना घाइते

२०८३ श्रावण १, शुक्रबार १६:२४
सांकेतिक तस्बिर

सर्लाही – काठमाडौं महानगरपालिका – ४ महाराजगञ्जस्थित नारायणगोपाल चोकमा शुक्रबार दिउँसो पाँच वटा सवारीसाधन एकआपसमा ठोक्किँदा सर्लाहीका दुई जनासहित १० जना घाइते भएका छन्।

प्रहरीका अनुसार सुकेधाराबाट नारायणगोपाल चोकतर्फ जाँदै गरेको भारतीय नम्बर बिआर–०६ डिडि ६०६३ को कार र विपरीत दिशाबाट आइरहेको बा.२ ज ३५७८ नम्बरको ट्याक्सी पहिलो चरणमा ठोक्किएका थिए।

त्यसलगत्तै दुर्घटनाको प्रभावले सुकेधारातर्फ जाँदै गरेका तीन वटा मोटरसाइकल पनि एकआपसमा ठोक्किन पुगे। दुर्घटनामा बागमती प्रदेश–०२–०६८ प १०५६, बा.७३ प ३७२३ र लु.११ प ४९७५ नम्बरका मोटरसाइकलसमेत संलग्न रहेको प्रहरीले जनाएको छ।

घाइते हुनेमा ट्याक्सी चालक रामेछापको खाँडादेवी गाउँपालिका निवासी ४१ वर्षीय ऊर्जा लामा, सर्लाहीका ३४ वर्षीय बिक्की साह, तेह्रथुमकी ५७ वर्षीया विष्णुमाया खापुङ, टोखा निवासी ६५ वर्षीया कुन्तीमाया लिम्बु, सर्लाहीको बागमती नगरपालिका निवासी १८ वर्षीय नियोजित साह तथा उदयपुरकी २६ वर्षीया पार्वती तामाङ रहेका छन्।

यस्तै, नवलपरासीका २२ वर्षीय जीवन राना, २५ वर्षीय विनोद थापामगर, बाँकेको बैजनाथ नगरपालिका–५ की १५ वर्षीया शिवानी शाही र १० वर्षीय सुशान्त शाही पनि दुर्घटनामा घाइते भएका छन्।

घाइते सबैको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार