खुट्टामा लगाएको मोजाभित्र लुकाएर ल्याउँदै गरेको साढे पाँच लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

२०८३ श्रावण २, शनिबार ०९:४०
साङ्केतिक तस्बिर

सर्लाही – रौतहटमा स्रोत नखुलेको नगद रकमसहित एक भारतीय नागरिकलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शुक्रबार साँझ गौर नगरपालिका – १ स्थित गौर भन्सार कार्यालय नजिक नियमित सुरक्षा जाँचका क्रममा भारतबाट नेपाल प्रवेश गर्दै गरेको सार्वजनिक अटो रिक्सामा सवार भारतको बिहार राज्य, सितामढी जिल्ला बैरगनिया निवासी ६२ वर्षीय राजेन्द्र प्रसाद जयसवाललाई पक्राउ गरिएको हो।

प्रहरीले उनको शरीर खानतलासी गर्दा खुट्टामा लगाएको मोजाभित्र लुकाएर राखिएको अवस्थामा स्रोत पुष्टि हुन नसकेको नेपाली ५ लाख ५० हजार रुपैयाँ फेला पारेको जनाएको छ। साथै उनको साथबाट भिभो कम्पनीको एक थान मोबाइल फोन पनि बरामद गरिएको छ।

बरामद नेपाली रकममध्ये एक हजार दरका ४९५ थान र पाँच सय दरका ११० थान नोट रहेको प्रहरीले जनाएको छ। त्यसबाहेक भारतीय मुद्रा ४ हजार ८० रुपैयाँ पनि बरामद भएको छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका जयसवालले यसअघि पनि निश्चित पारिश्रमिक लिएर ‘भरिया’का रूपमा नेपालतर्फ नगद रकम ओसारपसार गर्ने गरेको बयान दिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार