सर्लाही – सप्तरीको राजविराज कारागारमा शनिबार बिहान कैदीबन्दीबीच विवाद भएपछि पाँच जना कैदीबन्दीले आफ्नै शरीरमा मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेका हुन्। प्राप्त जानकारी अनुसार कारागारभित्र पछिल्ला दुई तीन दिनदेखि कैदीबन्दीबीच आन्तरिक विवाद चलिरहेको थियो।
सोही विवादका कारण असन्तुष्ट बनेका केही कैदीबन्दीले आत्मदाहको प्रयास गरेको बताइएको छ। घटनापछि कारागार प्रशासनले सम्बन्धित पक्षसँग छलफल गरी अवस्था सामान्य बनाउने प्रयास गरिरहेको छ।

कारागार स्रोतका अनुसार आत्मदाहको प्रयास भए पनि चिकित्सक टोली र एम्बुलेन्स तत्काल तयारी अवस्थामा रहेकाले कुनै मानवीय क्षति हुन पाएन। छलफल सकारात्मक दिशातर्फ अघि बढिरहेको जनाइए पनि विवादको वास्तविक कारणबारे भने प्रशासनले खुलाएको छैन।
यता, जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार एक चौकिदारमाथि सामान्य कुटपिट भएको विषयलाई लिएर विवाद सुरु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। प्रहरीको पहलमा कैदीबन्दीलाई सम्झाइबुझाइ गरिएपछि अहिले स्थिति नियन्त्रणमा रहेको जनाइएको छ।





