सर्लाही – चितवनको इच्छाकामना गाउँपालिका–स्थित जलविरे क्षेत्रमा नारायणगढ-मुग्लिन सडकखण्डमा आइतबार बिहान भएको सवारी दुर्घटनामा २५ जना घाइते भएका छन्। दुई यात्रुबाहक बस र एउटा ट्रक एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार साउन ३ गते बिहान करिब ७ः१० बजे काठमाडौंबाट दाङतर्फ जाँदै गरेको यात्रुबाहक बस, सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको अर्को यात्रुबाहक बस तथा सोही दिशामा गुडिरहेको ट्रक आपसमा ठोक्किएका थिए।

दुर्घटनामा घाइते भएका २५ जनालाई उद्धार गरी उपचारका लागि भरतपुरका अस्पतालहरूमा पठाइएको प्रहरीले जनाएको छ। घाइतेहरूको अवस्था सम्बन्धी विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।
दुर्घटनापछि तीनै सवारीसाधन सडकमै रहेकाले नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नेपाल प्रहरीको संयुक्त टोली परिचालन भई उद्धार तथा सडक सञ्चालन गर्ने काम भइरहेको छ।





