सर्लाही – वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीमध्ये सबैभन्दा धेरै संख्या तराईका जिल्लाबाट रहेको तथ्य सार्वजनिक भएको छ। वैदेशिक रोजगार विभागले आर्थिक वर्ष २०८२/८३ को विवरण सार्वजनिक गर्दै वैदेशिक रोजगारीतर्फ जाने श्रमिकको ठूलो हिस्सा मधेश र पूर्वी तराईका जिल्लाबाट रहेको जनाएको हो।
विभागका अनुसार गत आर्थिक वर्ष वैदेशिक रोजगारीका लागि विश्वका १५१ मुलुकमा जान ७ लाख ९२ हजार १८७ जनाले श्रम स्वीकृति लिएका छन्। तीमध्ये ६ लाख ९७ हजार ९६ पुरुष र ९५ हजार ९१ महिला रहेका छन्।

जिल्लागत विवरण हेर्दा धनुषा सबैभन्दा अगाडि रहेको छ। धनुषाबाट मात्रै ३८ हजार ५५३ जनाले श्रम स्वीकृति लिएका छन्। त्यसपछि झापाबाट ३५ हजार १२१, मोरङबाट ३१ हजार ९९०, सिरहाबाट ३० हजार २११, महोत्तरीबाट २८ हजार २२९, रुपन्देहीबाट २५ हजार ३९१, सुनसरीबाट २४ हजार ३६५, सर्लाहीबाट २३ हजार २७३ तथा सप्तरीबाट २० हजार ५५९ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्।
त्यस्तै, चितवनबाट १९ हजार ८०३, दाङबाट १९ हजार ९६, तनहुँबाट १६ हजार ३६५, कपिलवस्तुबाट १६ हजार ३३४, बाराबाट १५ हजार ५५५ र स्याङ्जाबाट १५ हजार २२५ जनाले पनि गत आर्थिक वर्ष श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ।
विभागले सार्वजनिक गरेको सूचीअनुसार वैदेशिक रोजगारीमा जाने प्रमुख १५ जिल्लामध्ये अधिकांश तराई क्षेत्रका रहेका छन्, जसले रोजगारीका अवसरको खोजीमा तराईबाट विदेश जाने क्रम अझै उच्च रहेको संकेत गरेको छ।
यता, हिमाली जिल्लाबाट भने वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या अत्यन्त न्यून देखिएको छ। मनाङबाट २१७ जना, मुस्ताङबाट २४४, डोल्पाबाट ६१४, हुम्लाबाट ६४३, मुगुबाट ८८६ र कालिकोटबाट एक हजार २४ जनाले मात्रै गत आर्थिक वर्ष श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाएको छ।





