बाराको होटलमा भारतीय नागरिक मृत फेला, सँगै बसेका सर्लाहीका एक पुरुष प्रहरीको नियन्त्रणमा

२०८३ श्रावण ४, सोमबार २०:५७
सांकेतिक तस्बिर

सर्लाही – बाराको जितपुरसिमरा उपमहानगरपालिका – २ सिमरास्थित एक होटलमा बास बसेका भारतीय नागरिक सोमबार बिहान मृत अवस्थामा फेला परेका छन्। घटनाबारे अनुसन्धानका क्रममा मृतकसँगै होटलमा बसेका सर्लाहीका एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मृत्यु हुनेमा भारतको कोलकाता घर भएका ६० वर्षीय अरुप साँधु रहेका छन्। प्रहरीका अनुसार साँधु सिमरास्थित लामा होटलमा बसेका थिए। विश्वकप फुटबलको फाइनल खेल हेरेर सुतेका साँधुको बिहान अचानक स्वास्थ्य अवस्था बिग्रिएको थियो। खबर पाएपछि पुगेको प्रहरी टोलीले उनलाई होटलको कोठामा अचेत अवस्थामा फेला पारेको थियो।

तत्काल उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। मृतकको शव परीक्षणका लागि कलैयास्थित प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धानका लागि साँधुसँगै होटलमा बसेका सर्लाहीको हरिवन नगरपालिका – १ का ४० वर्षीय जीवन प्रधानलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।

प्रहरीका अनुसार साँधु र प्रधान लामो समयदेखि भवन निर्माणसम्बन्धी काममा संलग्न रहँदै आएका थिए। घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र अनुसन्धान जारी रहेको बारा प्रहरीले जनाएको छ। प्रहरीले मृतकका भारतस्थित आफन्तलाई घटनाबारे जानकारी गराइसकेको छ।

आफन्त नेपाल आएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव जिम्मा लगाइने प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार