सर्लाही – बाराको कलैया उपमहानगरपालिका – ४ स्थित गुप्ता पेट्रोल पम्प नजिक गएराति अनियन्त्रित मिनी ट्रक घरमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
प्रहरीका अनुसार बरियारपुरबाट कलैयातर्फ जाँदै गरेको बा.१ क ४८३६ नम्बरको टाटा कम्पनीको खाली मिनी ट्रक गएराति करिब १२:३० बजे अचानक नियन्त्रण गुमाउँदा सडकको बायाँ किनारमा रहेको स्थानीय सुरेश साह कानुको घरमा ठोक्किएको हो।

दुर्घटनामा ट्रकमा सवार कलैया उपमहानगरपालिका–४ निवासी ४० वर्षीय शिवनारायण पासवान गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको भए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
उक्त दुर्घटनामा ट्रकमा रहेका जितपुर–सिमरा उपमहानगरपालिका–८ इमलीप्रती निवासी करिब ५० वर्षीय देवनारायण चौधरी घाइते भएका छन्। उनको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ र स्वास्थ्य अवस्था निगरानीमा रहेको बताइएको छ।
दुर्घटनापछि प्रहरीले ट्रक चालक रौतहटको गुजरा नगरपालिका–९ सिमरा भवानिपुर निवासी २७ वर्षीय राजु कुमार चौधरीलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ।
ट्रकको ठक्करका कारण सुरेश साह कानुको घरको एकातर्फको पर्खाल भत्किएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





