मलंगवा – मिटरब्याजको विवादलाई लिएर सर्लाहीमा एक पीडित परिवारमाथि कुटपिट भएको आरोप लागेको छ। जिल्लाको बसबरिया गाउँपालिका – २ का इन्दल सहनी र उनका परिवारमाथि मिटरब्याज कारोबारीको परिवारले आक्रमण गरेको भन्दै मिटरब्याज पीडित संघर्ष समितिले घटनाको विरोध गरेको छ।
समितिकी केन्द्रीय सदस्य लक्ष्मी घिमिरेका अनुसार मंगलबार लक्ष्मी कुर्मी राउतको परिवारले सहनीमाथि कुटपिट गरेको हो। सहनीले केही वर्षअघि राउतसँग ८ लाख रुपैयाँ ऋण लिएका थिए। ऋणको सुरक्षणस्वरूप २६ कठ्ठा जग्गा राजीनामामार्फत धितो राखिएको थियो।

मौखिक सहमतिअनुसार सावाँ र ब्याज चुक्ता भएपछि जग्गा फिर्ता गर्ने समझदारी भए पनि त्यो कार्यान्वयन नभएको आरोप छ। घिमिरेका अनुसार सहनीले विभिन्न चरणमा करिब १० देखि ११ लाख रुपैयाँ बुझाइसकेका थिए।
वडा कार्यालयको पहलमा जग्गा फिर्ता गर्ने सहमति समेत भएको बताइए पनि राउतको निधनपछि उनका परिवारले सहमति पालना नगरी उल्टै दुःख दिन थालेको आरोप लगाइएको छ।
पीडित पक्षका अनुसार राउतका छोरा विलासले धितो राखिएको जग्गा अर्कै व्यक्तिको नाममा बिक्री गरिसकेका छन्। सबै रकम चुक्ता गरेपछि पनि आफ्नो जग्गा फिर्ता नपाएको भन्दै सहनीले पटक पटक आग्रह गर्दै आएका थिए।
कुटपिटमा विलाससहित विशेषर, लक्ष्मण, जगदीश, रामप्रवेश शाह तथा एक महिलासमेत संलग्न रहेको संघर्ष समितिको दाबी छ। घटनामा इन्दल सहनी, उनका छोरा उमेश, छोरी मुना र श्रीमती भगवती कुमारी घाइते भएका छन्। उनीहरूको बरहथवा अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
सहनी यसअघि मिटरब्याजविरुद्ध सञ्चालन गरिएको पैदल न्याय मार्चमा सहभागी भएका पीडितमध्ये एक हुन्। सोही अभियानका क्रममा निजगढमा तत्कालीन गृहमन्त्रीसँग भएको छलफलमा पनि उनी सहभागी भएका थिए।
यता जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले घटनाबारे औपचारिक जानकारी हालसम्म प्रहरीसमक्ष नआएको बताए। प्रहरीले उजुरी परेपछि आवश्यक अनुसन्धान अघि बढाइने जनाएको छ।





