सर्लाही – अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने आश्वासन दिई नौ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका – ५ स्थायी घर भई हाल काठमाडौंको बुद्धनगर बस्दै आएका ५२ वर्षीय कलाकार नारदप्रसाद खतिवडा, उदयपुरको कटारी नगरपालिका – ७ सिरिसे घर भई हाल ललितपुरको नख्खीपोट बस्ने ३८ वर्षीय विक्रमबहादुर थापा तथा नवलपरासी (बर्दघाट सुस्तापश्चिम) का ५९ वर्षीय गोपालकुमार गुरुङ रहेका छन्।

प्रहरीका अनुसार गत असार १२ गते अध्यागमन विभागले काठमाडौंको सानेपाबाट नौ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। ती नागरिक हाल विभागकै हिरासतमा रहेका छन्।
उनीहरूलाई हिरासतबाट मुक्त गराइदिने तथा अध्यागमन विभागमा रहेका थप १५ वटा राहदानीसमेत फिर्ता गराइदिने भन्दै पक्राउ परेकाहरूले चिनियाँ नागरिकसँग ७२ लाख रुपैयाँमा सहमति गर्न खोजेका थिए। सो क्रममा उनीहरूले अग्रिम रूपमा नौ लाख रुपैयाँ लिइसकेको प्रहरीको दाबी छ।
उक्त घटनाबारे अनुसन्धानपछि पक्राउ परेका तीनै जनालाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।





