गोडैता – सर्लाहीको गोडैता नगरपालिका – १२, मधुवनी निवासी जनारसी देवी पासवानले ६४ वर्षको उमेरमा नेपाली नागरिकता पाएकी छन्। गोडैता नगरपालिका – १२, मधुवनीका वडाध्यक्ष केशव कुमारको बिगत ६ महिनादेखिको निरन्तर प्रयासपछि जनारसीले मंगलबार जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट नेपाली नागरिकता पाएकी हुन्।
जनारसी देवीले नागरिकता नहुँदा दैनिक जीवनका विभिन्न प्रशासनिक कामकाजमा कठिनाइ भोग्दै आएकी थिइन्। कानुनी पहिचानको अभावमा राज्यबाट उपलब्ध हुने विभिन्न सेवा तथा सुविधामा पहुँच स्थापित गर्नसमेत समस्या हुँदै आएको थियो। जनारसीका श्रीमानको यसघि नै निधन भईसकेको छ भने उनका दुई छोरा र एक छोरि रहेका छन्।

वडाध्यक्ष केशव कुमारका अनुसार जनारसीको नागरिकता प्राप्तिका लागि आवश्यक कागजात संकलन, सम्बन्धित निकायसँग समन्वय तथा कानुनी प्रक्रिया पूरा गर्न करिब छ महिनासम्म निरन्तर पहल गरिएको थियो। सोही प्रयासपछि उनले अन्ततः नेपाली नागरिकताको प्रमाणपत्र पाएकी हुन्। वडाध्यक्ष केशव कुमारले आफ्नो कार्यकालमा वडाभित्र नागरिकताविहीन नागरिक नरहून् भन्ने लक्ष्य पूरा भएको दाबी गरेका छन्।
वडाध्यक्ष कुमारले सरकारी प्रक्रिया र कानुनी प्रावधानबारे जानकारीको अभाव तथा आवश्यक प्रक्रिया पूरा गर्न कठिनाइ भोगिरहेका वडावासीलाई आफूले प्रत्यक्ष रूपमा सहजीकरण गर्दै सम्बन्धित निकायसम्म पुर्याई नागरिकता प्राप्तिको सम्पूर्ण प्रक्रिया पूरा गराउँदै आएको बताए।
यस्तै, सर्लाहीको पश्चिमी क्षेत्रअन्तर्गत धनकौल, रामनगर, बलरा लगायतका स्थानीय तहका बासिन्दाहरु अझै पनि उमेर ढल्किसकेका केही नागरिक नागरिकताविहीन रहेको पाइएको छ।





