महोत्तरीमा ३ वर्षीय बालकको हत्या आरोपमा १५ वर्षीया किशोरी पक्राउ

२०८३ श्रावण ७, बिहीबार ०९:१६

सर्लाही – महोत्तरीमा तीन वर्षीय बालकको हत्या गरेको आरोपमा प्रहरीले १५ वर्षीया एक किशोरीलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार सम्सी गाउँपालिका – ५ पोखरभिन्डाका ३ वर्षीय मनिकेश कुमार यादवको हत्या आरोपमा सोही गाउँकी १५ वर्षीया किशोरीलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार जेठ २२ गते साँझ बालकको शव बोराभित्र राखेर स्थानीय पोखरीमा फालिएको अवस्थामा फेला परेको थियो। घटनापछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गर्दै शंकास्पद किशोरीलाई नियन्त्रणमा लिएपछि घटनाको वास्तविकता खुलेको जनाएको छ।

अनुसन्धानबाट खुलेअनुसार घटना भएको दिन किशोरी साइकलको पछाडि करिब ३० किलो रासायनिक मल बोकेर खेततर्फ जाँदै थिइन्। मुख्य सडकबाट भोला बाबा मन्दिर जाने बाटोमा साइकल चलाइरहेका बेला सडकमा हिँडिरहेका बालक साइकलमा ठोक्किँदा दुवै जना लडेका थिए।

प्रहरीका अनुसार लडाइपछि किशोरीले बालकलाई अचेत अवस्थामा देखेपछि उनको मृत्यु भएको ठानेकी थिइन्। त्यसपछि घटना लुकाउने उद्देश्यले उनले बालकलाई बोरामा राखेर करिब ३०० मिटर टाढा रहेको पोखरीमा लगेर फालेकी थिइन्।

अनुसन्धानका क्रममा पोखरीमा शव फाल्नुअघि बालकले लगाएको चाँदीको बाला पनि किशोरीले निकालेको खुलेको प्रहरीले जनाएको छ। सो बाला पनि प्रहरीले बरामद गरेको छ।

प्रहरीले असार ५ गते किशोरीलाई घरबाटै नियन्त्रणमा लिएको थियो। हाल महोत्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार