सर्लाही – आन्तरिक राजस्व कार्यालय लहान, सिरहामा कार्यरत कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई कार्यालयमै सेवाग्राहीसँग घुस बुझ्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार सिरहा सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण (फुल अडिट) गर्ने क्रममा कर अधिकृत पालले अडिट प्रक्रिया सहज बनाइदिने तथा कर दायित्व मिलाइदिने आश्वासन दिँदै घुस मागेका थिए। उनले आफूभन्दा माथिल्लो तहका अधिकारीसहित अन्य व्यक्तिलाई समेत मिलाउनुपर्ने भन्दै सुरुवातमै ५ लाख रुपैयाँ माग गरेको आरोप छ।

कर परीक्षणका क्रममा कार्यालयले कम्पनीमाथि कर, जरिवाना तथा अन्य शीर्षकमा करिब २ करोड रुपैयाँ बराबरको दायित्व देखाएको थियो। थप कागजात पेस गरेपछि उक्त दायित्व अझै ३० देखि ३५ लाख रुपैयाँसम्म बढ्न सक्ने जानकारी दिइएको स्रोतले जनाएको छ।
यसपछि कर अधिकृत पालले १२ लाख रुपैयाँ दिए सम्पूर्ण करसम्बन्धी समस्या समाधान गरिदिने प्रस्ताव राखेका थिए। कम्पनीले आर्थिक अवस्था कमजोर रहेको बताएपछि अन्ततः ५ लाख रुपैयाँमै सहमति गर्ने प्रयास भएको बताइएको छ।
घुस लेनदेनको योजनाअनुसार कम्पनीका प्रतिनिधिलाई बुधबार दिउँसोदेखि साँझसम्म विभिन्न बहानामा प्रतीक्षा गराइएको थियो। साँझ करिब ६:५६ बजे पालले आफू गोलबजार क्षेत्रमा रहेको जानकारी गराउँदै अर्को दिन बिहान भेट्ने व्यवस्था मिलाएका थिए।
त्यसक्रममा एक बिचौलियाको नम्बरसमेत उपलब्ध गराइएको थियो। बिचौलियाले आफू बाहिर रहेको भन्दै आफ्ना भाइमार्फत रकम बुझाउन आग्रह गरे पनि अन्ततः पालले रकम कार्यालयमै ल्याउन भनेका थिए।
त्यसपछि सेवाग्राहीले कार्यालयमै ५ लाख रुपैयाँ बुझाइरहेका बेला अख्तियारको टोलीले उनलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयका प्रमुख रामबहादुर कुरुम्बाङले जानकारी दिए। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।





