मलंगवा – सर्लाहीमा दैनिक उपभोग्य वस्तुको मूल्य र गुणस्तर अनुगमनलाई थप प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयले सम्बन्धित निकायलाई कडा निर्देशन दिएको छ।
बिहीबार प्रमुख जिल्ला अधिकारी विजयराज सुबेदीको अध्यक्षतामा बसेको कार्यालय प्रमुखहरूको नियमित बैठकले जिल्लाभित्र सञ्चालन हुने बजार अनुगमनलाई नियमित र परिणाममुखी बनाउने निर्णय गर्दै घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयलगायत सम्बन्धित निकायलाई प्रत्येक १५÷१५ दिनमा अनुगमन प्रतिवेदन प्रमुख जिल्ला अधिकारीसमक्ष पेश गर्न निर्देशन दिएको हो।

बैठकले दैनिक उपभोग्य वस्तुको मूल्य, गुणस्तर, तौल तथा मापन, म्याद गुज्रिएका सामग्रीको बिक्री वितरणलगायत उपभोक्ता हितसँग सम्बन्धित विषयमा नियमित अनुगमन गर्न र अनियमितता भेटिएमा प्रचलित कानुनअनुसार दण्ड जरिवाना तथा आवश्यक कारबाही गर्न समेत निर्देशन दिएको छ।





