सर्लाही – मधेस प्रदेशमा हाल कायम रहेको तीन दलीय गठबन्धन सरकारले नै निरन्तरता पाउने भएको छ। नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका प्रमुख सचेतक कुँवरकान्त झाले वर्तमान गठबन्धन यथावत् रहने विषयमा शीर्ष तहमा सहमति भएको बताएका छन्।
शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपाली कांग्रेसका सभापति देउवा तथा सातै प्रदेशका मुख्यमन्त्रीबीच भएको छलफलमा मधेस प्रदेशमा कांग्रेस, नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) सम्मिलित गठबन्धनलाई निरन्तरता दिने सहमति बनेको जानकारी दिए।

हाल मधेस प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसका कृष्णप्रसाद यादवले गरिरहेका छन् भने सरकारलाई एमाले र नेकपा (एकीकृत समाजवादी) को समर्थन रहेको छ।
मुख्य सचेतक झाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह नेतृत्वको कार्यशैलीप्रति पनि असन्तुष्टि व्यक्त गरे। उनले महानगरका केही गतिविधि तानाशाही प्रवृत्तितर्फ उन्मुख भएको आरोप लगाउँदै सङ्घीयता, समानुपातिक र समावेशी व्यवस्थामाथि कुनै प्रकारको हस्तक्षेप वा अधिकार कटौती गरिए त्यसको कडा प्रतिरोध हुने चेतावनी दिए।
उनले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास भइरहेको अनुभूति भएको उल्लेख गर्दै त्यसविरुद्ध लोकतान्त्रिक शक्तिहरू एकजुट भएर संघर्ष गर्न तयार रहेको बताए।
यसैबीच, नेपाली कांग्रेसले प्रदेश सरकारहरूलाई प्रतिपक्षविहीन बनाउने अभ्यास उपयुक्त नहुने धारणा राख्दै आएको छ। प्रदेश सरकारहरूको सम्भावित पुनर्संरचना र सत्ता समीकरणबारे केन्द्रस्तरमा दलहरूबीच छलफल भने जारी रहेको बताइएको छ।




