मलंगवा – सर्लाही प्रहरीले स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ मोटरसाइकलमा नगद ल्याउदै गरेको विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार भारतको सोनवर्षाबाट मलंगवातर्फ भारतीय नम्बर बिआर ३० एच १९६९ भएको मोटरसाइकलमा ठूलो परिमाणमा नगद ल्याइँदै गरेको सूचनापछि प्रहरी टोली परिचालन गरिएको थियो।

खोजतलासका क्रममा मलंगवा नगरपालिका – ९ स्थित कृष्णामती चोकमा मोटरसाइकल रोकी जाँच गर्दा स्रोत नखुलेको रु. ५ लाख बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलबाट नगदसहित भारतीय नम्बरको मोटरसाइकल र रेड्मी कम्पनीको एक थान मोबाइल फोन समेत बरामद गरेको छ।
प्रहरीले मलंगवा नगरपालिका – ८ निवासी ३६ वर्षीय बिकाउ महतो र रामनगर गाउँपालिका – १ निवासी २४ वर्षीय रुपेश कुमार यादवलाई पक्राउ गरेको छ। प्रहरीले दुवै जनामाथि आवश्यक अनुसन्धान अघि बढाएको छ।
जिल्ला अदालत सर्लाहीबाट पाँच दिनको म्याद थप अनुमति लिई उनीहरूमाथि स्रोत नखुलेको नगद सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





