मलंगवा – जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्लामा हुन सक्ने सम्भावित घटनाप्रति उच्च सतर्कता अपनाउँदै शान्ति सुरक्षा, सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न सबै पक्षलाई संयमित र जिम्मेवार बन्न आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीको अध्यक्षतामा सोमबार बसेको जिल्ला सुरक्षा समिति बैठकले जिल्लास्थित सुरक्षा निकाय, धार्मिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, नागरिक अगुवा र सुरक्षा समितिका पदाधिकारीहरूको उपस्थितिमा शान्ति सुरक्षा सुदृढ बनाउने उद्देश्यसहित चार बुँदे निर्णय गरेको हो।

प्रशासनद्वारा जारी प्रेस विज्ञप्तिअनुसार जिल्लामा कुनै पनि घटना भएमा तथ्य र वास्तविकता नबुझी अफवाह वा उत्तेजनात्मक प्रतिक्रिया नदिन सबै धार्मिक समुदाय, नागरिक र सरोकारवालालाई आग्रह गरिएको छ। सामाजिक, सांस्कृतिक तथा धार्मिक सद्भाव, आपसी सम्मान र विविधताबीचको एकतालाई कमजोर पार्ने गतिविधिबाट टाढा रहन पनि प्रशासनले अनुरोध गरेको छ।
त्यस्तै, समाजमा व्याप्त लागूऔषध कारोबार, दुर्व्यसन तथा अन्य अवैध गतिविधिले शान्ति सुरक्षामा असर पार्न सक्ने भएकाले यस्ता गतिविधि हुन नदिन सबैले आ-आफ्नो स्थानबाट भूमिका निर्वाह गर्न र आवश्यक सूचना प्रशासनलाई उपलब्ध गराई सहयोग गर्न आग्रह गरिएको छ।
बैठकले सामाजिक सद्भाव तथा सांस्कृतिक एकता खलबल्याउने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनलाई सहयोग गर्न समेत सर्वसाधारणसँग अपिल गरेको छ। यस्ता गतिविधिमा संलग्न व्यक्तिबारे सूचना उपलब्ध गराई नियन्त्रणमा सहयोग गर्न प्रशासनले आग्रह गरेको हो।
यस्तै, सबै नागरिकलाई आफ्नो धर्मको पालना गर्दै अन्य धर्मप्रति सम्मान गर्ने संस्कृतिको विकास गर्न, समाजमा स्थायी शान्ति कायम राख्न तथा विकास निर्माणका गतिविधिमा सक्रिय सहभागिता जनाउन पनि प्रशासनले आह्वान गरेको छ।
जिल्ला प्रशासन कार्यालयले यी निर्णयहरूको प्रभावकारी कार्यान्वयनका लागि सम्पूर्ण जिल्लावासी, धार्मिक संघ संस्था तथा सरोकारवालाले सकारात्मक, रचनात्मक र जिम्मेवार भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।






