झापाको एक विद्यालयमा सर्लाहीकी शिक्षिका मृत फेला

२०८३ श्रावण १२, मंगलवार १२:०९
सांकेतिक तस्बिर

सर्लाही – झापाको मेचीनगर नगरपालिका–६, काँकडभिट्टास्थित अरुणोदय इंग्लिस बोर्डिङ स्कुलको आवासीय भवनबाट एक शिक्षिकाको शव फेला परेको छ।

मृतक सर्लाहीको लालबन्दी नगरपालिका – २ निवासी २९ वर्षीया कविताकुमारी ढुंगाना रहेको प्रहरीले जनाएको छ। ढुंगाना आफ्ना श्रीमान् ३० वर्षीय रतन गुप्तासँग विद्यालय परिसरमै रहेको आवासीय कोठामा बस्दै आएकी थिइन्।

गुप्ता पर्साको वीरगन्ज महानगरपालिका–१६ का स्थायी बासिन्दा हुन्। दुवै जना यसै वर्षको वैशाख महिनादेखि उक्त विद्यालयमा शिक्षकका रूपमा कार्यरत थिए। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं डीएसपी रञ्जन आवाका अनुसार घटनाको प्रकृति र मृत्युको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ।

विद्यालयमा साउन ५ गतेदेखि बिदा रहेकाले दुवै शिक्षक केही दिनदेखि विद्यालयको नियमित सम्पर्कमा थिएनन्। सोमबार विद्यालय पुनः सञ्चालन भएपछि पनि उनीहरू उपस्थित नभएपछि प्रधानाध्यापक दुर्गाबहादुर लुइँटेलले सम्पर्क गर्ने प्रयास गरेका थिए। तर फोन नलागेपछि उनीहरू बस्ने कोठासमेत बाहिरबाट बन्द अवस्थामा रहेको पाइएको थियो।

प्रधानाध्यापक लुइँटेलका अनुसार सोमबार अपराह्न करिब ४:३० बजे रतन गुप्ताले ह्वाट्सएपमार्फत सन्देश पठाएका थिए। उक्त सन्देशमा श्रीमतीलाई कोठाभित्र झुन्डिएको अवस्थामा भेटेको, त्यसपछि अर्को कोठामा सारेको र आफू डरका कारण त्यहाँबाट निस्किएको उल्लेख गर्दै कोठाको ताला खोलेर आवश्यक कानुनी प्रक्रिया पूरा गरिदिन अनुरोध गरिएको थियो।

स्थानीयका अनुसार गुप्तालाई आइतबार साँझ करिब ५ बजेतिर दुई वटा झोला बोकेर विद्यालय परिसरबाट बाहिरिएको देखिएको थियो। त्यसयता उनी सम्पर्कमा नआएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनाको जानकारी पाएलगत्तै टोली घटनास्थल पुगेको थियो। शवलाई पोस्टमार्टमका लागि पठाइएको छ भने मृत्युको वास्तविक कारण खुल्न बाँकी रहेको छ। सम्पर्कविहीन रहेका श्रीमान् रतन गुप्ताको खोजी कार्यसमेत तीव्र पारिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार