वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने रौतहटका एकसहित पाँच जना पक्राउ

२०८३ श्रावण १२, मंगलवार १२:४०
साङ्केतिक तस्बिर

सर्लाही – आकर्षक तलबसहित वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा रौतहटका एक जनासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रौतहट घर भई काठमाडौं महानगरपालिका–२६ बस्ने ३० वर्षीय मुन्ना चौधरी, मोरङ घर भई ललितपुर महानगरपालिका–२६ बस्ने ४७ वर्षीय भुमिका देवान, भोजपुर घर भई काठमाडौं महानगरपालिका – १० बस्ने ४३ वर्षीया विमला थापा, दैलेख घर भई ललितपुर महानगरपालिका–९ बस्ने ४१ वर्षीय केशवबहादुर शाही तथा मोरङ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बस्ने ३५ वर्षीया बिनु श्रेष्ठ रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार मुन्ना चौधरीले अल्बानिया पठाइदिने भन्दै एक जनाबाट १ लाख ६६ हजार रुपैयाँ ठगी गरेका थिए। यस्तै, भुमिका देवानले अल्बानिया पठाइदिने भन्दै एक जनाबाट १ लाख ५० हजार रुपैयाँ, विमला थापाले मलेसिया पठाइदिने भन्दै एक जनाबाट ४ लाख ४८ हजार रुपैयाँ असुलेको आरोप छ।

त्यसैगरी, केशवबहादुर शाहीले जर्जिया लगायतका विभिन्न देशमा रोजगारी मिलाइदिने आश्वासन दिँदै आठ जना पीडितबाट कुल ८८ लाख ५० हजार रुपैयाँ उठाएका थिए। बिनु श्रेष्ठले हङकङ पठाइदिने भन्दै एक जनाबाट ३ लाख ५० हजार रुपैयाँ लिएपछि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।

पीडितहरूले दिएको उजुरीका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार