सर्लाही – धनुषाको विदेह नगरपालिका – ५ का तत्कालीन वडाध्यक्ष विजयकुमार यादवले भारत सरकारको सहयोगमा प्राप्त एम्बुलेन्सलाई सरकारी सम्पत्तिका रूपमा दर्ता नगरी लामो समयसम्म व्यक्तिगत नियन्त्रणमा राखेर सञ्चालन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारतीय राजदूतावासबाट स्थानीय नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले प्राप्त एम्बुलेन्सको दुरुपयोग गरेको अभियोगमा यादवविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।

आयोगका अनुसार यादवले २०७७ असोज १४ गते भारतीय राजदूतावाससँग भएको सम्झौताअनुसार वडाको सेवाका लागि एम्बुलेन्स प्राप्त गरेका थिए। तर उक्त एम्बुलेन्सलाई वडा कार्यालयको जिन्सी अभिलेखमा दर्ता नगरी आफ्नै नियन्त्रणमा राखी निजी सवारीसरह सञ्चालन गरिएको अनुसन्धानबाट खुलेको छ।
अनुसन्धानमा एम्बुलेन्स ३ वर्ष ५ महिनाको अवधिमा ३० हजार १८५ किलोमिटर चलेको देखिए पनि त्यस अवधिको लगबुक, इन्धन खर्च, आम्दानी वा सञ्चालनसम्बन्धी कुनै आधिकारिक अभिलेख नराखिएको अख्तियारले जनाएको छ। आयोगका अनुसार एम्बुलेन्सबाट व्यक्तिगत लाभ लिइएको प्रमाण फेला परेको छ।
नेपाल रेडक्रस सोसाइटी धनुषाले निर्धारण गरेको कच्ची सडकको एम्बुलेन्स भाडादरलाई आधार मानेर हिसाब गर्दा सार्वजनिक सम्पत्तिमा १५ लाख ९ हजार २५० रुपैयाँ बराबरको हानि–नोक्सानी पुगेको अख्तियारको निष्कर्ष छ।
अनुसन्धानका क्रममा कानुनी कारबाहीबाट बच्ने उद्देश्यले यादवले ३ लाख ८१ हजार ५९७ रुपैयाँ दाखिला गरे पनि अझै ११ लाख २७ हजार ६५३ रुपैयाँ असुल गर्नुपर्ने देखिएको आयोगले जनाएको छ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत बिगो बराबरको जरिवाना, कैद सजाय तथा बाँकी बिगो असुलउपरको माग गर्दै यादवविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो।





