गोडैता – सर्लाहीमा खेतमा सिँचाइका लागि जडान गरिएको पानी तान्ने विद्युतीय मोटरबाट करेन्ट लाग्दा एक किसानको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको गोडैता नगरपालिका – ११ सिसौटियाका ४५ वर्षीय संजय कुमार यादव रहेका छन्।
प्रहरीका अनुसार सोमबार राति करिब १०ः४५ बजे आफ्नै खेतमा विद्युतीय मोटरमार्फत सिँचाइ गरिरहेका बेला मोटरको तार मिलाउने क्रममा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका यादवलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो।

अस्पतालमा उपचारका क्रममा राति ११ः२६ बजे चिकित्सकले ईसीजी परीक्षणपछि उनलाई मृत घोषणा गरेका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी गोडैताबाट प्रहरी टोली घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान गरेको थियो।
त्यसपछि मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक गणेश पाण्डेको नेतृत्वमा सोको टोलीसहितको प्रहरी घटनास्थल पुगेर मुचुल्का तयार गर्नुका साथै थप अनुसन्धान गरेको प्रहरीले जनाएको छ।
पोस्टमार्टमपछि मृतकको शव मंगलबार दिउँसो उनका भाइ अजय कुमार राय यादवले बुझेर अन्त्येष्टिका लागि लगेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।





