मलंगवा – सर्लाही प्रहरीले जिल्लामा बढ्दो लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि सञ्चालन गरेको विशेष खोजी तथा पहिचान अभियानअन्तर्गत एकै दिन १६ जना लागुऔषध दुर्व्यसनीलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आईतबार जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको अभियानका क्रममा प्रहरी चौकी गौरिशंकरटोलबाट ११ जना र प्रहरी चौकी त्रिभुवन नगरबाट ५ जना गरी जम्मा १६ जना लागुऔषध दुर्व्यसनीलाई पहिचान गरी नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको छ। लागुऔषध दुर्व्यसनमा संलग्न व्यक्तिहरूको पहिचान, खोजी तथा नियन्त्रणलाई प्रभावकारी बनाउन अभियानलाई निरन्तर सञ्चालन गरिने जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले लागुऔषध दुर्व्यसन समाजका लागि गम्भीर चुनौती बन्दै गएकाले यसको नियन्त्रणका लागि समुदाय, अभिभावक तथा सरोकारवाला निकायसँग सहकार्य गर्दै अभियानलाई थप प्रभावकारी बनाइने जनाएको छ।





