सर्लाही – सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा प्रहरीको गोली लागेर घाइते भएका अर्का एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
गत आइतबार राति दुई पक्षबीच भएको विवाद हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। सोही क्रममा पेटमा गोली लागेर गम्भीर घाइते भएका देवानगन्जका २७ वर्षीय जयप्रकाश मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

अस्पताल प्रशासनका अनुसार गोली लागेर गम्भीर घाइते भएका मेहताको गत सोमबार शल्यक्रिया गरिएको थियो। तर, स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
मृतक जयप्रकाशको शव हाल न्युरो अस्पतालमै राखिएको छ। यसअघि सोही घटनामा गोली लागेर गम्भीर घाइते भएका देवानगन्ज गाउँपालिका – ४ का २५ वर्षीय ओमप्रकाश मेहताको पनि मृत्यु भएको थियो। उपचारका लागि अस्पताल पुर्याइएलगत्तै आइतबार राति १० बजेर ४० मिनेटमा उनको मृत्यु भएको प्रहरीले जनाएको थियो। ओमप्रकाशको शव पनि हालसम्म अस्पतालमै रहेको बताइएको छ।
कप्तानगन्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर १० जना युवा घाइते भएका थिए। घाइतेमध्ये जयप्रकाश र ओमप्रकाशको मृत्यु भएपछि उक्त घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ। अन्य आठ जना घाइतेको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।





