सर्लाही – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूले गृहमन्त्री सुधन गुरुङको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। पार्टी सभापति रवि लामिछानेसँग भएको भेटमा उनीहरूले पछिल्लो घटनाक्रममा गृहमन्त्रीले स्थानीय सांसदहरूसँग आवश्यक समन्वय र छलफल नगरेको गुनासो गरेका हुन्।
सुनसरीबाट सुरु भएको घटनाको प्रभाव अहिले मधेशका विभिन्न जिल्लासम्म फैलिँदै गएको अवस्थामा सम्बन्धित क्षेत्रका जनप्रतिनिधिसँग गृहमन्त्रीले संवाद नगरेको भन्दै सांसदहरूले प्रश्न उठाएका छन्।

छलफलमा सहभागी मधेशका एक सांसदका अनुसार, सुनसरीबाट सुरु भएको विषय मधेशका जिल्लाहरूमा समेत विस्तार भइसकेको भए पनि गृहमन्त्री गुरुङले प्रभावित क्षेत्रका सांसदहरूसँग परामर्श वा छलफल गरेका छैनन्।
ती सांसदले भने, “सुनसरीबाट सुरु भएको घटना अहिले मधेशतर्फ फैलिएको छ। तर, सम्बन्धित जिल्लाका सांसदहरूसँग गृहमन्त्रीले संवाद गर्नुभएको छैन। गृहमन्त्रीको भूमिकाप्रति रहेको असन्तुष्टि सभापतिसमक्ष राखेका छौं।”
सांसदहरूको गुनासो सुनेपछि पार्टी सभापति रवि लामिछानेले पछिल्लो घटनाक्रमप्रति आफू गम्भीर र संवेदनशील रहेको बताएका थिए। मधेशमा आपसी सद्भाव र सामाजिक सहअस्तित्व कायम राख्न आवश्यक पहल गर्न आफू स्वयं मधेश जाने विषयमा समेत सोचिरहेको उनले बताएका छन्।
छलफलमा सहभागी एक सांसदका अनुसार, सभापति लामिछानेले परिस्थितिको गम्भीरतालाई ध्यानमा राख्दै मधेशमा देखिएको तनाव र असहजता समाधानका लागि पार्टीले आवश्यक भूमिका खेल्ने संकेत गरेका छन्।





